Tuesday, November 26

पिण्ड भोगी हजुरबालाई पहिलो चोटी देख्दा


मैले मेरो हजुरबुबालाई अहिले सम्म देखेको थिइन । मेरो मम्मीले पनि देख्नु भएन अरे । मेरो बुबा मम्मीको बिहे हुँदा बितिसक्नुभएको थियो हाम्रा हजुरबा । देख्ने कुरा गर्दा एउटा कुरा याद आयो, मेरो बुबा आफैँले त हप्तामा एकचोटी देख्ने बुढालाई म मोरोले कहाँ पाएर देख्नु ।

हाम्रा हजुरबा सारो जुवाडे थिए अरे । हामी जस्तो चाडपर्वमा म्यारीज खेल्ने जस्तो लेभलको भन्दा धेरै माथिका जुवाडे–बा-हमासे । एक हातमा हुक्का लिएर निक्ले पछि बा-ह-पन्ध्र दिन गायब । निद्रा नपुगेर उभिनै नसक्ने भएपछि जिलिङको उकालोमा चारहात खुट्टा टेक्दै उक्लन्थे अरे ।
सबैको आ–आफ्नो माता पिताका जन्मदाता, अन्नदातासँगको आफ्नै मिठो नमिठो यादहरु होलान् । मेरो याद भने हजुरबाले उकालोमा चार हातपाऊ टेकेर घर फर्केको ।

हाम्रा हजुरबाको कुनै फोटा सोटा छैनन् भन्ने विश्वासमा म हुर्किएँ । मलाई त्यही बताइयो भनौँ । आफुलाई त मामाघरमा लगेर पालेका मावली पट्टीका हजुरबा र हजुरआमाले । सानै थिएँ । हजुरआमालाई नै मम्मी भन्दै हुर्किएँ । अहिले थाहा पाएपछि पनि हजुरआमा भन्न अप्ठेरो भएर ठुलीमम्मी भन्छु । एकचोटि मेरी मम्मी (साच्चीकैको मम्मी) मामाघर आउनुभएको बेलामा मलाई –“मेरो छोरा..... मेरो बाबा...” भनेर बोक्न आट्नुभएछ । म नचिन्नाले डराएर भागेछु । मम्मी धेरै रुनुभएछ । त्यसैले मेरो त हजुरबुबा भनेकै मावलीका काला भुँडे हजुरबा थिए । मलाई आफ्नै छोरालाई भन्दा बढि माया गरेर पालेका बिचरा हजुरबाले । हजुरबाको कुरा उठ्यो कि हाम्रा ठेकेदार हजुरबा कै अनुहार याद आउँछ ।

सँजोगले अस्ति मेले नदेखेको हजुरबाको पासपुट साइजको फोटो भेटियो –ब्ल्याक एण्ड ह्वाइट । मेरो सौतेनि हजुरआमाको छोरा अर्थात मेरा अंकलको घरमा । हजुबा त जङकी पो रैछन् बाइ ! हेराई त खतरनाक । मलाई त तिनले– “तेरिमा फिस्टे । तैँले मलाई चौपाया जस्तो भन्ने ?” भनेर कड्किहाल्छन् कि जस्तो लाग्यो । ड्यान्जर रैछन बुढा त ।

हाम्रो घरमा हजुरबाको बारेमा घरमा खासै कुरा हुँदैन । हामीले सोध्दापनि सोधेनौँ । जुवाको बारेमा पनि हजुरआमाले तास खेलेको देख्दा गाली गरेको भएर मात्र थाहा पाएका हुँ । तर माइलो भाइले बेलुकी हजुरबाको चित्र दुरुस्तै बनाएछ, हजुरआमा त थोता दाँत देखाउँदै हाँस्तै भन्नु भो –“दुरपन्नै बनाएछ नि हजुरबाको । आँखा त झन् ठ्याक्कै मिलाइछस् कान्छा ।” त्यसपछि त निकै लामो गफ चल्यो हाम्रा अलमोस्ट फर्गटन हजुरबाको । कुरा सुन्दै जाँदा पो थाहा भयो–हजुरबा त खतरा प्लेब्वाइ रहेछन् । तीन–तीन वटी श्रीमती भित्राएर बसेका रैछन् बुढा । हुन त त्यतिबेला नर्मलै थियो क्यारे बहुबिबाह ।

हाम्रो घर गाउँको बुढो घर थियो अरे । सब गाउँका मान्छे तमाखु र हुक्का लिएर आउँथे रे हाम्रो घरमा । अनि घरको आँगनीमा भएको कौडा खेल्ने सिलोट(ढुङगो) वरपर रिङगै बसेर लोग्नेमान्छे र आइमाइहरु धुम्रपान गर्थे अरे । कस्तो बेला थियो, सबै कुरामा बिभेद गरेपनि हानी हुनेकुरामा चाहिँ पछ्छेपात नगर्ने रैछन ।

हजुरबा मनमा जति खुसि भएपनि अनुहार भने सधैँ रिसाएजस्तो हुन्थ्यो भनेर याद रहेछ बुबालाई । म भने गफको क्रममा प्वाक्क प्वाक्क प्रश्न सोधेर गफलाई चलाउँदै थिएँ । सुन्न रमाइलो लागिरहेको थियो । पछि थाहा भयो, बुबालाई त एकदिन कुनामा लगेर हजुरबाले यसो भनेका रहेछन् –“ बाबु, तँ त बुझ्ने छस् शिव । पढेको छस् । (सौतेनी भाइहरुलाई देखाउँदै) भाइहरु साना छन् । तैँले अंशको आस नगरेस । तेरी आमाले तेरा लागि जग्गा जमिन जोरेकी छे । तँलाइ त्यसैले पुग्छ । मेरो अंश यिनै भाइहरुलाई दिन्छु है ।”

यसरी मेरा बुबाले केहि अंश पाउनुभएनछ । पाएका भए हामी अलि बढि सम्पन्न हुनेथियौँ होला । मेरी हजुरआमाले गरेको दुःख कसैले गरेन होला । मेरा बुबा जन्मिनुभएको असारमा । रोपाईँको समय । न त माइतीले नै मेरी हजुरआमालाइ हे-यो, न त घरले नै । आफ्नो खेतमा रोपाइँ गर्नै प-यो । जन्मिएको दुई दिनमा, मुसलधारे पानीमा बुवालाई कान्लामा सुताएर खेतमा एक्लै रोपाइँ गरेर हुर्काउनुभयो मेरो बुबालाई मेरी हजुरआमाले । यी कुरा सुनेपछि नरमाइलो लाग्यो । खाना खाने बेला भो भन्दै खाना खान लाग्यौँ तर हजुरबुबाका यि यादलाई त्यसै छोड्न सकिन । म रिसाएको छैन हजुरबा, पितृ सँग रिसाएर के पाउनु । बरु म कृतज्ञ छु । तपाइँले केहि नदिएर त हामीले अभावको बारेमा सिक्यौँ । दुःखको बारेमा जान्यौँ । बुबा आमाको मिहिनेतलाई बुझेर म प्रयास गर्दैछु । अहिले हामी खुसी छौँ । सम्पन्न नभएपनि खान लाउनको दुःख छैन । पिता पुर्खाको मेहेनत बुझेर हामी दाजु भाइले चाँडै जागिर खायौँ । बाबु आमा सँग पैसा माग्न परेको छैन । बाउको पैसामा मोज गर्ने भइँन । यो कुराको हर्ष र घमण्ड छ मलाई । अहिले पो बुझेँ । यो सबै तपाइँकै देन रहेछ । धन्यवाद हजुरबा ।

1 comment:

Unknown said...

Je jasto bhaye pani, Sabai ateet lai birsera naya ra positive soch ko sath aghi badhnu parcha. good job Sid.