
पाटनको लगनखेल बसपार्कको बिचमा एउटा ठूलो मन्दिर छ रातो मच्छिन्द्रनाथको । तर हाम्रा मच्छिन्द्रनाथ भने वर्षमा एकचोटी मात्र भिजिट गर्न आइपुग्छन जात्राको बेलामा । त्यस मन्दिर परिसरमा एउटा पुलिस चौकी र सँगै टाँसिएको चौकोशे मन्दिर पनि छ जसको ढोका प्राय बन्द नै रहन्थ्यो । त्यो क्षेत्रमा मेरो बाल्यकालको ठूलो अंश बितेको छ । तिनै दिनहरुबाट यो एउटा रमाइलो घटना यहाँ लेख्दै छु ।
अहिले बसपार्क भएपनि त्यस बेला मन्दिर वरिपरि कपडा र जुत्ता पसलहरुका छाप्राहरुले चर्को व्यपार गर्दथे । हाम्रो परिवारको आय श्रोत पनि त्यहिँको एउटा कपडा पसल थियो । त्यहाँ नेताहरु आएर भासन गर्दथे हामी भुराहरु आफ्नै तालमा हराएर खेलिरहेका हुन्थ्यौँ । सबै पाटन भन्ने बित्तिकै कृष्ण मन्दिर र दरबार स्क्वायर सम्झन्छन्, म भने मेरो निस्फिक्र बाल्यकाल सम्झन्छु । मम्मीले जो पायो त्यहि सँग फोहोरमा खेल्यो भनेर कुचो लिएर पुरै बसपार्क लखेटेको याद झलझल आउँछ । मामाघरको हजुरबुबाले किन्दिनुभएको पहेँलो हाफ कट्टु र टि–सर्ट लगाएर लिखुरे खुट्टाले खुरुरुरुरु दौडँदा खुब मजा आउँथ्यो ।
यो घटना हुँदा मलाई भर्खर मामाघरबाट मम्मीले ल्याउनुभएको थियो जस्तो ला
ग्छ मलाई । म नयाँ साथी बनाउँदै थिएँ । शनिबारको दिन बसपार्क भरी त्यहाँका ब्यापारीका बच्चाबच्चीहरु टन्नै हुन्थ्यौँ । के के खेल्थ्यौँ के के । दौडिन्थ्यौँ, उफ्रिन्थ्यौँ, के के गथ्यौँ के के । एन.टि.भि.मा २ बजेको समाचार पछि फिल्म दिन्थ्यो, त्यो चाहिँ कहिल्यै छुट्दैनथ्यो । ‘लाहुरे’ बारम्बार दिन्थ्यो । मलाई असाध्यै मनपर्ने, दोहो¥याए पनि हेर्थेँ ।
एकदिन खेल्दै जाँदा सबै बच्चाहरु कहाँ पुगेछन् कहाँ, म त एउटी मधेसी मुलकी केटीसँग पो खेल्दै रहेछु । ठूलाठूला आँखा र कालो कालो अनुहार भएकी त्यस केटीले आफ्नो भाइ बोकेकी थिइ । म भन्दा केही वर्ष जेठी त्यो केटी एक्लै पाटनको गल्लीहरुमा हिड्न सक्थि । हामी तीनजाना मजाले खेलेर बस्यौँ । सानो हुँदा त के नै कारण चाहिँदो रहेछर, सँगै खेल्न थालेपछि यसै साथी भइन्थ्यो । अहिले जस्तो रोजी रोजी साथी बनाइँदैनथ्यो । जो सँग कुरा मिल्यो र खेल्यो, त्यही मिल्ने साथी । त्यो केटीको भाइले भने छङछङ बज्ने खेलौना हातमा लिएर हल्लाउँथ्यो । मलाई अरु भन्दा पनि त्यहि खेलौनाले मोहित बनायो । मलाई त्यो खेलौनामा धेरै नै चाख लागेको देखेर त्यो केटीले भनी ः “यस्तो खेलौना त हाम्रो घरमा दुइटा दराजभरी छ ।” म हेरेको हे¥यै भएँ । मैले सानोमा जतिनै मिठो खान र राम्रो लगाउन पाए पनि खेलौना भने कहिल्यै पाएको थिइनँ । म त टि डब्लु ए ट्वाँ भने जस्तै भएँ । मैले भनेँ–“साँच्ची ?” उसले कसम खाइ ।
“जाने हो मेरो घर, खेलौना हेर्न ?”
“ टाढा होला ।”
“ छैन । नजिकै छ । ”
“ त्यसो भए जाम । तर दुई बजे भन्दा अगाडी आउनुपर्छ । फिल्म हेर्न पर्छ ।”
“ हुन्छ ।”
हामी उसको ‘नजिकै’को घरतिर लाग्यौँ । न त मम्मीलाई सोधेँ न त बुबालाई । यसै फुर्किएर हिडेँ । तर त्यो फुक्र्याइ त धेरैबेर कहाँ टिक्यो र । एकछिनमा अन्जान बाटो तिर लागेपछि खेलौना हेर्ने उत्साह सब मरेर गयो । उत्साह डरमा परिवर्तन भयो । हराइन्छ की भनेर म आत्तिएँ । उसले केहि हुँदैन आइपुग्न लाग्यो भनि । म भने आएको बाटो तिर हेर्दै पिन्चे अनुहार लगाउन थालेँ । बाटो आफुलाई थाहा थिएन । पछि लाग्नै प¥यो । तर मेरो फुटेको भाग्यले अझै दुःख दिने बिचार गरेको रहेछ । घनघोर पानी प¥यो । अघि सम्म घाम लागेको दिन अहिले अन्धकार भयो । मेरो अनुहार पनि सँग सँगै कालो निलो भयो, जाडो भयो र डरले चिसो मुटु सम्मै पु¥यायो । म घर फर्कन्छु भनेर रुन थालेँ । उसले भनि–
“ तिम्रो घर भन्दा मेरो घर नजिक पर्छ । लगनखेल फर्कियो भने धेरै भिजिन्छ त्यसैले मेरो घरमा पानी रोकिउन्जेल कुरौँ । अनि फकौँला ।”
“नाईँ, यहिँ कुर्ने । ” म त्यहिँ देवलमा थ्याच्च बसेँ । एकछिन पछि जाडो भयो अनि लुरुलुरु उसको पछि लागेँ ।
केटीको घर पुग्दा, पानी परीरहेकै थियो । हामी तीनै जना निथ्रुक्क भिजेका थियौँ । घर भित्र छिरे पछि तिमी यहिँ बस्दै गर, म माथि पुगेर आउँछु भन्दै भाई लिएर माथि गई । म खङग्रङग भएँ । लौ फसाद प¥यो !
सानो छँदा सबैलाई ठूलाबडाले भनेको हुनुपर्छ – “जो पायो त्यहिले दिएको नखाऊ, जो पायो त्यहि सँग नहिँड । आजकाल भैयाहरुले बच्चा उठाएर लान्छन् ।” हाम्रा मधेसी मूलका दाजुभाइहरुलाई अपहरणकारी भनि चिनाइन्थ्यो । अहिले पनि गरिन्छ तर हामी बालकलाई त्यति मात्र भनेत हुन्थयो नि । लगेर तेलमा भुटेर खान्छन् भनेर पो आपत !
लौ न मलाई त पकाउने भए भन्ने डरले म त थचक्कै बसेँ । पक्कै त्यल्ले आफ्नो नरभक्षी बाउलाई लिएर आउँछे र त्यसको परिवारले मिलेर समोसा जसरी तारेर खान्छन् भनेर म कायल भएँ । यिनीहरुको पकौडा बन्नुभन्दा बरु ठन्डीले मर्नु ठिक भनेर म त्यहाँबाट कुलेलाम ठोकेँ ।
डरले कहालिएको म कता कुदेँ कता । ‘ठूलो विपत’बाट ज्यान जोगाएर त भागियो तर जाने कहाँ ? बाटोको केहि मेसो पाउन सकिनँ । केहि नलागेपछि गर्न नै के सक्थेँ र ? रोएँ । बाटोको बिचमा रुदैँ, रुझ्दै हिडेँ ।
पानी कतिबेला रोकिएछ थाहा पाईनँ । म मम्मीलाई सम्झदैँ भक्कानिँदै हाफ टि–सर्ट र कट्टुमा भौतारिएँ । रुन रोकिएपछि सुक्कँ सुक्कँ गर्दै हिडिरहेँ ।
हाम्रो घरमा एकजना अंकल बस्नुहुन्थ्यो । हिरो अंकल । त्यो जमानामा कुन चाहिँ हो फिल्ममा हिरो बनेर खेलेका थिए रे । त्यसैले उनको नामै हिरो ! उनै हिरो अंकल त कामबाट साइकलमा त्यतैबाट घर फकिँदै रहेछन् । मलाई देखेर टपक्क टिपेर साइकलमा अगाडी राखेर घर सम्म ल्याईदिए । उनी फिल्मको हिरोबाट रियल लाईफ हिरो बने त्यस दिन ।
यता घरमा भने हाहाकार मच्चिएछ । काका–काकी (मेरो बुबा मम्मीको उपनाम)को जेठो छोरा हराएछ । सबै जना धुनधन्ती मेरो खोजीमा हिँडेछन् । म घर पुगिने भैयो भनेर रमाउँदै साइकलमा आइपुग्दा त मम्मी टाउको समाएर रुँदै हुनुहुँदो रहेछ । मैले साइकलबाट ओर्लिँदै मसिनो रुन्चे स्वरमा ‘मम्मी’ भनेर बोलाउँदा मम्मी दौडिँदै आएर अंगालो मार्नुभयो अनि दुई थप्पड दूइटा गालामा जोरसँग लगाउनुभयो । अनि त दुवैजना ह्वाँ ह्वाँ रुन पो थाल्यौँ । अहिले सम्झँदा, पाटनमा बितेको बाल्यकालको सबैभन्दा मिठो क्षण त्यहि दुई थप्पड हुन् मेरा । आखिर पकौडा हुनबाट बल्ल बल्ल जोगिएर आमाको अंगालोमा पुगेको थिएँ ।
पछि पो थाहा भयो–त्यो मधेसी केटी त हाम्रै पसलनेरको जुत्ता पसलेको छोरी पो रहिछ । म रुझेकाले माथि पुछुन तौलीया लिन गएकी रहिछ ! म यसै टाप कसेको रहेछु त्यसका बाजे । झण्डै साँच्चै लापता भएको ।
त्यस घटनाबाट मैले चारवटा कुरा सिकेँ । पहिलो– झट्टै कसैलाई यसै विश्वास गरेर पछि लाग्न हुँदैन ।
त्यतिबेला संजोग बस चिनेकै मान्छे सँग म गएतापनि सधैँ चिनेकै मान्छे पर्छ भन्ने छैन । पकौडा बनाएर नखाएपनि अपहरण गरी लगेर सोच्नै नसकिने गरि यातना दिएर, हात खुट्टा काटेर सडकमा भीख माग्न लडाइदिने गिरोह पनि धेरै छन् । दोस्रो पाठ– हिरो भनेको मुन्द्रा लगाएका भिषण भुस्तिघ्रेहरुलाई एक्लै पछारेर हैन, हराएको छोरोलाई उसकि आमासँग मिलन गराउने जस्ता काम गरेर भइन्छ । म हिरो अंकलको ऋणी भएको छु । उनी प्रति मेरो र मेरो परिवारको माया र आर्शिवाद सदा रहनेछ । तेस्रो– हाम्रा तराई वासी दाजुभाई तथा दिदीबहिनीलाई रङ्ग र लवाई खवाईको आधारमा भेदभाव गर्नुहुँदैन । भैया र धोती जस्ता शब्दले नबोलाउँ । चौथो र सबभन्दा महत्वपूर्ण पाठ– आफुलाई केहि हुँदा आफुलाई भन्दा बढी पिडा आमालाई हुँदो रहेछ । हामीलाई गर्लफ्रेण्ड, ब्वाईफ्रेण्ड, श्रीमान, श्रीमतीले जति नै माया गर्छु भनेपनि आमाको जति माया त मरे पनि गर्न सक्दैनन् । त्यसैले आमालाई माया गर्नु पर्छ । बुढो भएपछि पुरानो दराजलाई लगेर फ्याले झैँ बृद्घाश्रममा नफ्यालौँ ।
जताततै डुल्न हुन्न भन्ने मनमा परेपनि कोल्ले सिरिएसली लियो र ? बाँदर जस्तो चकचके थिएँ । जे भएपनि डुल्न र चकचक गर्न त कहाँ छोड्नु । भन्छन् नि–“नानी देखि लागेको बानी, यसै कहाँ छुट्छ र !”

